काठमाडौं, ६ साउन । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा मंगलबार राति आएको बाढीले एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जलविद्युत् कर्मचारी जोखिमपूर्ण स्थानमा फसेका छन्।
वडा अध्यक्ष ङिमगेली शेर्पाका अनुसार करिब ७३ वर्षीय तसमान तामाङ गाई–बाख्राको गोठसहित बाढीमा बगेर बेपत्ता भएका हुन्।
बाढीका कारण सिनर्जी हाइड्रोपावरको सिप्रिङ खोला जलविद्युत् आयोजनामा कार्यरत सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा फसेका छन्। खोलामा लगातार बाढी आइरहेकाले उनीहरूको उद्धारमा कठिनाइ भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाका अनुसार प्रहरी टोली सिंगटी र रोल्वालिङबाट घटनास्थलतर्फ पैदल गइरहेको छ। दुर्गम भूगोलका कारण घटनास्थल पुग्न समय लाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार बाढीले सिनर्जी हाइड्रोपावरको ड्याम साइटमा क्षति पुर्याएको छ भने सिप्रिङ खोलाले दुवै किनारमा व्यापक कटानसमेत गरेको छ।







प्रतिक्रिया