काठमाडौं, ६ साउन – काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा युवती मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान कसुरमा अनुसन्धान अघि बढाएको छ।
साउन ३ गते बसपार्कस्थित होटल माउन्टेन एल्सिभाको एक कोठाको पलङमुनि २५ वर्षीया युवतीको शव फेला परेको थियो। घटनापछि प्रहरीले जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई नेपालगञ्ज बस्दै आएका ३८ वर्षीय दानबहादुर शाही र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अदालतबाट सात दिनको म्याद लिएर दुवैमाथि अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार होटलको कोठा दानबहादुर शाहीको नाममा बुक गरिएको थियो भने प्रारम्भिक अनुसन्धानमा हत्या घटनामा रमेश बुढाको संलग्नता देखिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाको अघिल्लो दिन बसपार्क क्षेत्रमा रमेश बुढाको ती युवतीसँग भेट भएको थियो। सो क्रममा बाथरुममा थुनेर नगद रकम लुटिएको दाबी उनले गरेका छन्। त्यसको भोलिपल्ट पुनः भेट भएपछि दुवै होटलको कोठामा पुगेका थिए।
प्रहरीका अनुसार कोठाभित्र नगद रकमको विषयलाई लिएर विवाद भएको र त्यसक्रममा युवतीको हत्या भएको आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ। प्रारम्भिक बयानमा रमेश बुढाले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। यद्यपि, घटनाको सम्पूर्ण सत्य तथ्य अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनापछि शव पलङमुनि लुकाइएको अवस्थामा रहेको र केही दिनपछि कोठा सफा गर्न पुगेका होटल कर्मचारीले दुर्गन्ध आएपछि शव फेला पारेका थिए। त्यसलगत्तै प्रहरीलाई जानकारी गराइएको थियो।
होटलको अभिलेख, सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीले दानबहादुर शाहीको भूमिकाबारे पनि थप अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत छानबिन जारी रहेको जनाएको छ।







प्रतिक्रिया