बागमती सरकारमा राजनीतिक तरंग, एमालेका ६ मन्त्रीले छाडे पद

काठमाडौं, ६ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन अन्त्य गर्दै नेकपा एमाले सरकारबाट बाहिरिएको छ।

एमालेका ६ जना मन्त्रीले मंगलबार राति मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक रूपमा राजीनामा बुझाउनुभएको हो।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया तथा पार्टी केन्द्रीय नेतृत्वको निर्देशनअनुसार मन्त्रीहरूले पदबाट राजीनामा दिनुभएको जनाइएको छ।

राजीनामा दिने मन्त्रीहरूमा कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, साथै बिनाविभागीयबाट विषयगत जिम्मेवारी सम्हालिरहनुभएका जयराम थापा, किरण थापामगर र भरतबहादुर केसी रहनुभएको छ।

उता, बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर आठ कायम गर्ने तयारीस्वरूप नयाँ संगठन तथा व्यवस्थापन संरचना (ओ एन्ड एम) अनुसार मन्त्रालयहरूको कार्यविभाजन टुंगो लगाउने जनाएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  ०७ : ११  बजे