जनकपुरधाम, ५ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राजनीतिक सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताउनुभएको छ।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य औपचारिक रूपमा अघि बढिसकेको जानकारी दिनुभयो।
तीन दलबीचको समझदारी सकिएको हो भन्ने जिज्ञासामा उहाँले त्यस विषयमा छलफल जारी रहेको प्रतिक्रिया दिनुभयो। साथै, नेपाली कांग्रेससँग पनि संवाद भइरहेको उल्लेख गर्दै केही दिनभित्रै त्यसबारे टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले प्रदेश तहमा समेत नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत गर्नुभयो। पछिल्लो राजनीतिक घटनाक्रमअनुसार संघीय राजनीतिसँगै प्रदेश सरकारहरूको समीकरणमा पनि परिवर्तन आउन सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो।
संयोजक दाहाल दुईदिने मधेश प्रदेश भ्रमणका क्रममा महोत्तरी र धनुषा जिल्लामा विभिन्न राजनीतिक तथा संगठनात्मक कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको छ।







प्रतिक्रिया