आर्थिक वर्ष २०८२/८३ मा ५८ करोड ७७ लाख बराबरको लागूऔषध बरामद, १ हजार ३२५ जना अदालतमा पेश

काठमाडौं, ५ साउन — लागूऔषध नियन्त्रण ब्यूरोले आर्थिक वर्ष २०८२/८३ मा देशभर सञ्चालन गरेका कारबाहीका क्रममा करिब रु. ५८ करोड ७७ लाख ५४ हजार ८४० बराबरको विभिन्न प्रकारका लागूऔषध बरामद गरेको जनाएको छ। ब्यूरोले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार ठूलो परिमाणमा कोकिन, हेरोइन, ट्रामाडोल, एम्पुललगायतका लागूऔषध बरामद हुनुका साथै अन्तरदेशीय लागूऔषध तस्करीमा संलग्न नेपाली तथा विदेशी नागरिकमाथि कारबाही गरिएको छ।

ब्यूरोका अनुसार वर्षभरिमा १ हजार ३२५ जना प्रतिवादीलाई अभियोगसहित अदालतमा पेश गरिएको छ। तीमध्ये १ हजार ११३ जना (८४ प्रतिशत) पुर्पक्षका लागि थुनामा गएका छन् भने २१२ जना धरौटीमा छुटेका छन्।

वार्षिक विवरणअनुसार लागूऔषध नियन्त्रणसम्बन्धी १९२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो, जसबाट ६ हजार ६ सय ९१ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

त्यसैगरी कारागारबाट २४ जनाजनै आन्दोलनका क्रममा हिरासतबाट २७ जना फरार भएको विवरण पनि सार्वजनिक गरिएको छ।

बरामद लागूऔषधमध्ये सबैभन्दा बढी मूल्यको १३.३७६ किलोग्राम कोकिन रहेको छ, जसको अनुमानित अवैध बजार मूल्य रु. ४६ करोड ८१ लाख ७५ हजार छ। त्यसैगरी ७.८ किलो सेतो हेरोइन, २३.१६१ किलोग्राम खैरो हेरोइन, ५ लाख ४१ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल, ६६ हजारभन्दा बढी एम्पुल, १ हजार ४० एलएसडी पिस, ४३ केजी अफिम, १ हजार ६ सय ३ केजी गाँजा र अन्य लागूऔषध बरामद गरिएको ब्यूरोले जनाएको छ।

ब्यूरोले वर्षभरि अन्तरदेशीय लागूऔषध तस्करीमा संलग्न विभिन्न गिरोहविरुद्ध विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ। कारबाहीका क्रममा भारत, कोलम्बिया, ब्राजिल, सेनेगल लगायतका देशका नागरिकसमेत पक्राउ परेका छन्। लागूऔषध ओसारपसारमा प्रयोग भएका कार, मोटरसाइकल, स्कर्पियो, डिजिटल तराजु, नगद र अन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ।

ब्यूरोका अनुसार लागूऔषध उत्पादन, ओसारपसार, बिक्री–वितरण र सेवनविरुद्ध अनुसन्धान तथा कारबाहीलाई अझ प्रभावकारी बनाइनेछ। साथै युवालाई लक्षित सचेतनामूलक कार्यक्रम विस्तार गर्दै अन्तरदेशीय तस्करी नियन्त्रणमा विशेष जोड दिइने जनाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  २१ : १४  बजे