चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

काठमाडौं, ५ साउन । काठमाडौंको चोभारमा गुडिरहेको निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।

बा ५ च ३०३८ नम्बरको निजी कारमा बिहान करिब साढे ११ बजेपछि एक्कासी आगलागी भएको थियो। आगलागी भएको कार विद्युतीय (ईभी) नभएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीले तत्काल प्रहरी र ट्राफिकलाई खबर गरेपछि घटनास्थल पुगेको टोलीले आगो नियन्त्रणमा लिएको थियो। तर, गाडीको ढोका खोल्न नसक्दा चालक बाहिर निस्कन नपाई गाडीभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आगो नियन्त्रणमा आएपछि चालक डढेको अवस्थामा फेला परेका थिए। गाडीभित्र धुवाँ भरिएकाले चालकबाहेक अन्य व्यक्ति पनि थिए वा थिएनन् भन्ने विषयमा प्रारम्भिक चरणमा यकिन हुन सकेको थिएन।

प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  १२ : ४४  बजे