२४ घण्टामा विपद्का ६२ घटना : सर्पदंशबाट २ जनाको मृत्यु, ११ सडक अवरुद्ध

काठमाडौं, ४ साउन । देशभर पछिल्लो २४ घण्टामा बाढी, पहिरो, डुबान, सर्पदंशलगायत प्राकृतिक विपद्का ६२ वटा घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मृत्यु भएका दुवै व्यक्तिको ज्यान सर्पदंशका कारण गएको हो। पहिरोका घटनामा थप दुई जना घाइते भएका छन्।

दैनिक विपद् बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा १८ जिल्लामा २६ वटा पहिरो, १३ वटा सर्पदंश, ८ वटा आगलागी, ७ वटा अविरल वर्षा, ५ वटा जनावर आक्रमण तथा ३ वटा बाढीका घटना दर्ता भएका छन्। विपद्का कारण करिब १२ लाख २७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। साथै, ६ वटा चौपाया पनि क्षति भएका छन्।

विपद्को प्रभावले देशभर ११ वटा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची, अरनिको, पृथ्वी राजमार्गका केही खण्ड, दिक्तेल–भोजपुर मध्यपहाडी सडक, बीपी राजमार्ग तथा कान्ति लोकपथमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएको छ। यद्यपि, पृथ्वी राजमार्गअन्तर्गत चितवन र धादिङका अवरुद्ध खण्ड भने सञ्चालनमा आएका छन्।

लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम अझै कायम रहेकाले प्राधिकरण र नेपाल प्रहरीले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  २१ : ०२  बजे