नयाँ बसपार्कको गेस्ट हाउसमा युवती मृत फेला, हत्या भएको प्रहरीको निष्कर्ष

काठमाडौं, ४ साउन । काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले घटनालाई हत्या भएको भन्दै संलग्न व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार नयाँ बसपार्क क्षेत्रको एक गेस्ट हाउसको कोठाभित्र २५ वर्षीया निशा सुनार मृत अवस्थामा फेला परेकी हुन्। उनी कैलालीको धनगढी उपमहानगरपालिका निवासी रहेको प्रहरीले जनाएको छ।

गेस्ट हाउस सञ्चालकले कोठाबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले कोठाभित्र युवतीको शव फेला पारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले प्रारम्भिक अनुसन्धानबाट युवतीको हत्या भएको देखिएको जानकारी दिनुभयो। घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउका लागि अनुसन्धानलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो।

मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। प्रहरीले घटनाको कारण र हत्यामा संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १५ : २३  बजे