शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन १४ महिला सकुशल फर्किए

कञ्चनपुर, ४ साउन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेला सम्पर्कविहीन भएका १४ जना महिला सकुशल परिवारको सम्पर्कमा फर्किएका छन्। जंगलभित्र च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि उनीहरू केही समयसम्म बाहिर निस्कन नसकेको खुलेको छ।

भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब १२:१५ बजे सम्पर्कविहीन महिलाहरू आफैं गाउँ फर्किएर परिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलभित्र च्याउ खोज्दै जाँदा बाटो हराएकाले बाहिर निस्कन ढिलाइ भएको बताएका छन्।

महिलाहरू सकुशल फर्किएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली भीमदत्त–१९ बागफाँटा पुगेर उनीहरूको स्वास्थ्य अवस्था तथा घटनाबारे जानकारी लिएको छ।

यसअघि आइतबार साँझदेखि सम्पर्कविहीन रहेका बेल्डाँडी गाउँपालिका–२ का तीन महिलालाई नेपाली सेनाको रणसिंह दल गणको टोलीले सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो।

रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कविहीन भएका सबै महिला सुरक्षित रहेको पुष्टि गर्नुभएको छ।

निकुञ्जभित्र विभिन्न समूहका महिला च्याउ टिप्न प्रवेश गरेपछि उनीहरू सम्पर्कविहीन भएको खबर आएसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। सबै महिला सकुशल फेला परेपछि खोजी अभियानसमेत समाप्त गरिएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १५ : ०९  बजे