काठमाडौं, ४ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बाट च्याउ खोज्न जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि प्रहरी र सम्बन्धित निकायले तीव्र रूपमा उद्धार तथा खोज अभियान सञ्चालन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएका थिए।
मालुमेला पोष्ट हुँदै निकुञ्जभित्र प्रवेश गरेका महिलाहरू ९ जना र ५ जनाको दुई समूहमा विभाजन भएर च्याउ खोज्न गएको जनाइएको छ। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।
प्रहरीका अनुसार उनीहरूसँग सम्पर्क हुन नसकेपछि खोजी अभियान सुरु गरिएको हो। सुरक्षा निकायले जंगल क्षेत्रमा खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।
लगातारको वर्षा र जंगल क्षेत्रमा बढेको जोखिमका कारण स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।







प्रतिक्रिया