काठमाडौं, ४ साउन । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट क्षेत्रमा पहिरो खसेकाले यातायात अवरुद्ध भएको छ। धादिङ प्रहरीका अनुसार पहिरोका कारण दुवैतर्फको यातायात अवरुद्ध भएको हो।गएरातिको वर्षाले पृथ्वी राजमार्गका विभिन्न ठाउँमा साना–ठूला पहिरो खसेका थिए। साना पहिरो पन्छाइसकिएको छ भने बेनिघाट क्षेत्रको पहिरो पन्छाउने क्रम जारी छ।वर्षाका कारण जोखिम बढेपछि धादिङ प्रहरीले गएरातिदेखि नै यातायातका साधन सन्चालनमा रोक लगाएको थियो। पहिरो पन्छाइसकिएपछि सवारी साधन सन्चालन हुन दिने प्रहरीले जनाएको छ।त्यसैगरी बीपी राजमार्ग पनि लेदोसहितको पहिरोका कारण बन्द छ। यी दुईबाहेक अन्य प्रमुख सडक भने सञ्चालनमै रहेको प्रहरीले जनाएको छ।
फिस्लिङमा पहिरोले सडक पूर्णरुपमा बन्द
यसैगरी, पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अबरुद्ध भएको छ। आज बिहान २ः२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८ः०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए। अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ । स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १०ः०० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो।







प्रतिक्रिया