काठमाडौं, ३ साउन । निरन्तर वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन्। सडकमा पानी जम्दा सवारी आवागमन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको भन्दै ट्राफिक प्रहरीले चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार वर्षाका कारण माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न भएको छ। पानी जमेकै कारण कतिपय स्थानमा सवारीसाधन एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो।
उहाँका अनुसार हाल ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने गरेको छ। सार्वजनिक बिदाका कारण सवारी चाप अपेक्षाकृत कम भएकाले ट्राफिक व्यवस्थापनमा सहजता भएको उहाँको भनाइ छ।
प्रहरीले वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सबै चालकलाई अनुरोध गरेको छ।
साथै, उपत्यकामा हरेक वर्ष दोहोरिने जलमग्नताको समस्या समाधानका लागि प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापनमा दीर्घकालीन सुधार आवश्यक रहेको ट्राफिक प्रहरीले जनाएको छ।







प्रतिक्रिया