काठमाडौं, ३ साउन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव घरायसी सहयोगी नभई संसदीय कामलाई प्रभावकारी बनाउन सक्ने दक्ष र सक्षम व्यक्ति हुनुपर्ने बताउनुभएको छ।
पार्टी कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले स्वकीय सचिव छनोट गर्दा व्यक्तिगत सहयोगीभन्दा पनि संसदीय गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले स्वकीय सचिवले सांसदका नीति, योजना र संसदीय कार्यसम्पादनलाई प्रभावकारी बनाउन योगदान पुर्याउनुपर्ने उल्लेख गर्दै घरायसी सहयोगीको भूमिकामा सीमित राख्नु उपयुक्त नहुने बताउनुभयो।
महासचिव पोखरेलले बदलिँदो प्रविधिको युगमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिको दक्ष प्रयोग गर्न सक्ने व्यक्तिलाई स्वकीय सचिवका रूपमा छनोट गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार राजनीतिक रूपमा निष्ठावान र सुझबुझपूर्ण हुनुका साथै सूचना प्रविधिमा दक्षता भएका व्यक्तिले मात्रै सांसदको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन सक्छन्।
उहाँले आधुनिक संसदीय अभ्यासअनुसार सांसदका स्वकीय सचिवको भूमिका अझ व्यावसायिक, प्रविधिमैत्री र परिणाममुखी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।







प्रतिक्रिया