काठमाडौं, ३ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुभएको छ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो।
श्रीलंका भ्रमणका क्रममा संयोजक प्रचण्डले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै क्षेत्रीय राजनीतिक सहकार्य, शान्ति र प्रगतिशील आन्दोलनका विषयमा धारणा राख्नुभएको थियो।
भ्रमणका अवसरमा उहाँले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग द्विपक्षीय छलफल गर्नुभएको थियो। त्यसैगरी सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP)का महासचिव तिल्भिन सिल्भा तथा पार्टी पोलिटब्युरोका नेताहरूसँग पनि छुट्टै भेटवार्ता गर्नुभएको थियो।
यस अवधिमा प्रचण्डले विभिन्न देशबाट सम्मेलनमा सहभागी भएका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग समेत विचार आदान–प्रदान गर्नुभएको पार्टीले जनाएको छ।
उहाँ गत जुलाई १५ मा श्रीलंका प्रस्थान गर्नुभएको थियो। भ्रमणलाई दक्षिण एसियाली वामपन्थी दलहरूबीचको सम्बन्ध विस्तार र समसामयिक राजनीतिक विषयमा अनुभव आदान–प्रदानका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।







प्रतिक्रिया