एमालेले संसदीय भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको समूह निर्माण गर्दै

काठमाडौं, ३ साउन । नेकपा एमालेले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत ढङ्गले उपयोग गर्ने नीति अघि सारेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद‍्मा पार्टीको प्रस्तुतिलाई केवल राजनीतिक मात्र नभई प्राज्ञिक, बौद्धिक र तथ्यपरक बनाउनुपर्नेमा जोड दिनुभयो । राजनीतिक अनुभवले खारिएको नेतृत्व र विभिन्न विधामा विज्ञता हासिल गरेका व्यक्तित्वहरूको ज्ञानको संयोजनबाट पार्टीलाई सही मार्गनिर्देशन प्राप्त हुने उहाँको विश्वास छ ।पार्टीले विज्ञहरूको रुचि र दक्षताका क्षेत्रहरू पहिचान गर्न फारम उपलब्ध गराउने र त्यही आधारमा विज्ञहरूको विज्ञ–सूची अर्थात् ‘रोस्टर’ तयार गर्ने प्रक्रिया शुरू गरेको छ । उपनेता अर्यालका अनुसार विज्ञहरूलाई उनीहरूको विशिष्टताका आधारमा विभिन्न क्षेत्रगत समूह अर्थात् ‘क्लस्टर’ मा विभाजन गरिनेछ ।यस्तै संसद‍्मा सांसदहरूले राख्ने धारणालाई थप सशक्त र तथ्यपरक बनाउन ‘मुद्दा सङ्कलन केन्द्र’ समेत स्थापना गर्ने भएको छ ।

केन्द्रले जनस्तरका समस्या, सामाजिक मुद्दा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमको सूक्ष्म अध्ययन गरी तथ्यहरू सङ्कलन गर्नेछ जसले सांसदहरूलाई सदनमा प्रभावकारी बहस गर्न सहयोग पुर्‍याउने अर्यालले बताउनुभयो ।सरकारका गलत कदमको खबरदारी गर्दै सही मार्गमा ल्याउन र पार्टीको दृष्टिकोणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न विज्ञहरूको सुझाव अपरिहार्य रहेको उपनेता अर्यालले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १४ : ४१  बजे