सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिदै

काठमाडौँ, ३ साउन। नेकपा (एमाले) ले सङ्घीय संसद्‌मा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजेदेखि च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूले संसद्‌मा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका बारेमा प्रशिक्षण दिनुभएको छ ।

पार्टी सचिव एवं संसदीय विभाग प्रमुख पद्मा अर्यालका अनुसार कार्यक्रममा संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयको काम, कर्तव्य, अधिकार तथा संसदीय समितिहरूको अधिकार क्षेत्र र उठाउनुपर्ने विषयहरूका बारेमा जानकारी गराउनुभएको छ । त्यसैगरी, महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनेछन्। सांसदहरूले पार्टी नीति अनुरूप संसद्‌मा भूमिका निर्वाह गर्नुपर्ने र सम्बन्धित विषयमा पार्टीका विभागहरूसँग कसरी समन्वय र परामर्श गर्ने भन्ने विषयमा महासचिव पोखरेलले स्पष्ट पार्ने अर्यालले जानकारी दिनुभयो ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार कार्यक्रममा दुवै सदनका सांसदहरूका साथै पार्टीका सबै विभाग प्रमुख र पूर्व सदस्यहरूलाई समेत आमन्त्रण गरिएको छ। कार्यक्रमकै अवसरमा सम्बन्धित विभागहरूले सिफारिस गरेका विषय विज्ञहरूको ुरोस्टरु तयार पारिनेछ, जसले सांसदहरूलाई संसदीय विषयवस्तुमा आवश्यक परेका बेला विशेषज्ञ परामर्श उपलब्ध गराउनेछ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  १२ : २९  बजे