ट्रोलको पीडा सुनाउँदै सांसद सीता थपलिया : ‘दुई पटक आत्महत्याको प्रयास गरेँ’

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सामाजिक सञ्जालमा भएको ट्रोलिङका कारण आफू गम्भीर मानसिक तनावमा परेको र दुई पटक आत्महत्याको प्रयाससमेत गरेको खुलासा गर्नुभएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद थपलियाले संसद्मा दिएको अभिव्यक्ति अर्की सांसदको भनाइसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी व्यापक ट्रोल गरिएको बताउनुभयो।

उहाँका अनुसार संसद्मा उठाइएको विषय सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रस्तुत गरिएको भए पनि त्यसलाई गलत रूपमा प्रचार गरिँदा आफू मानसिक रूपमा विक्षिप्त बनेको थियो।

सांसद थपलियाले तीन जना युवाले आत्मदाह गरेको घटनाको प्रसंग उठाउँदै सरकारको ध्यानाकर्षण गराउन एउटै विषय धेरै सांसदले उठाउनु अस्वाभाविक नभएको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “सरकारले जनताको आवाज नसुनेसम्म एउटै विषय सय जना सांसदले पनि उठाउन सक्छन्। तर, त्यसलाई आधार बनाएर सामाजिक सञ्जालमा गरिएको ट्रोलिङले म अत्यन्तै विक्षिप्त भएँ। यही कारण मैले दुई पटक आत्महत्याको प्रयाससमेत गरेँ।”

सांसद थपलियाले सामाजिक सञ्जालमा हुने चरित्रहत्या, अपमानजनक टिप्पणी र ट्रोल संस्कृतिले व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधिप्रति सबै पक्ष संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १६ : १८  बजे