काठमाडौं, १४ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष, जनमुखी र प्रभावकारी बनाउन आत्मसमीक्षा र जनतासँगको सम्बन्ध सुदृढ गर्नुपर्ने बताउनुभएको छ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले हालैको निर्वाचन परिणामलाई सुधारको अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै कुनै एक निर्वाचनका आधारमा कम्युनिष्ट आन्दोलन वा जनताको बहुदलीय जनवादको भविष्यबारे निष्कर्ष निकाल्न नहुने बताउनुभयो। बदलिँदो समाज, प्रविधि र युवाको अपेक्षाअनुसार नीति र कार्यशैली परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले संविधान संशोधनको बहसमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकका लागि उपयुक्त नहुने धारणा पनि राख्नुभयो। लोकतन्त्रमा निर्वाचन जित्नु मात्र पर्याप्त नभई संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वको पालना गर्नु नै सच्चा लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाइ थियो।







प्रतिक्रिया