काठमाडौं, ३० जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले दार्चुलास्थित अपी हिमाल बेस क्याम्पमा क्रिकेट खेलिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि जेनजी अभियन्ता जियाउल हक अन्सारीले कटाक्ष गरेका छन्।
शनिबार बिहान प्रधानमन्त्री शाहले फेसबुकमार्फत अपी हिमाल बेस क्याम्पमा क्रिकेट खेलिरहेको भिडियो पोस्ट गरेका थिए। भिडियोमा ‘जय महाकाली’ गीतको संगीत समेत समावेश गरिएको छ। उक्त भिडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।
अभियन्ता अन्सारीले प्रधानमन्त्रीको पछिल्लो गतिविधिलाई संसदमा नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिसँग जोड्दै आलोचना गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेख्दै, “जनताको आवश्यकता आग्रा तिर, प्रधानमन्त्रीज्यूको ध्यान र प्राथमिकता गाग्रा तिर” भन्दै सरकार जनचासोका मूल विषयबाट विमुख भएको टिप्पणी गरेका छन्।
अन्सारीले सुस्ता र अपी हिमाल फरक भौगोलिक क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उठेको विषयभन्दा अलग प्रसङ्गमा ध्यान केन्द्रित गरेको आरोप लगाए। उनले लेखेका छन्, “सुस्ता नेपालको मध्य–मधेशको दक्षिणी क्षेत्रमा पर्छ भने अपी हिमाल बेस क्याम्प उत्तरपश्चिमको हिमाली भूभागमा अवस्थित छ। यो जानकारी गराइदिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई पुनः हार्दिक धन्यवाद।”
उनले प्रधानमन्त्री शाह विषयान्तर गर्न माहिर रहेको आरोप लगाउँदै जनताले उठाएका सवालहरूको जवाफ दिनुपर्ने बताएका छन्। अन्सारीका अनुसार जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू ओझेलमा पारेर प्रतीकात्मक गतिविधिमार्फत जनध्यान मोड्ने प्रयास दीर्घकालीन रूपमा प्रभावकारी नहुनेछ।
प्रधानमन्त्री शाह पछिल्लो समय नेपाल–भारत सीमा, सुस्ता लगायतका विषयमा संसदमा दिएको अभिव्यक्तिका कारण आलोचना र बहसको केन्द्रमा छन्। यस्तै अवस्थामा सार्वजनिक गरिएको अपी हिमालको भिडियोले राजनीतिक वृत्तमा थप टिप्पणी र प्रतिक्रिया जन्माएको छ।








प्रतिक्रिया