बालेन पक्षबाट पाखा लगाइएपछि सरिनको आक्रोश : ‘बेइमानको राजनीति सक्दिनँ’

काठमाडौं, जेठ २८ । बालेन पक्षबाट पाखा लगाइएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ गोमा तामाङ (सलिन) ले पार्टी परित्याग गर्दै राजनीतिबाट समेत विश्राम लिने घोषणा गर्नुभएको छ।

कोशी प्रदेश कमिटी अधिवेशनमा सभापतिको उम्मेदवार रहनुभएकी तामाङ मतगणनामा दोस्रो भएपछि पार्टीभित्रको आन्तरिक राजनीति र गुटबन्दीका कारण आफूले पार्टी छाडेको बताउनुभएको हो।

सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गर्दै उहाँले “आजदेखि राजनीतिबाट बिदा” लिएको उल्लेख गर्नुभएको छ।

लामो समयदेखि पार्टीमा सक्रिय रहनुभएकी तामाङले पछिल्लो समय गुटगत राजनीति, असहयोग र आन्तरिक प्रतिस्पर्धाका कारण आफू निराश बन्नुभएको बताउनुभएको छ। उहाँले आफूलाई अस्वस्थ राजनीतिक अभ्यास स्वीकार गर्न नसक्ने बताउँदै “बेइमानको राजनीति गर्न सकिनँ” भन्दै पार्टी परित्याग गर्नुभएको हो।

“नसक्ने अवस्थामा पुगेपछि मैले हार खाएँ। मलाई बदमासको राजनीति गर्नु छैन। बेइमानको राजनीति गर्न सकिनँ,” उहाँले भन्नुभयो।

उहाँले राजनीतिक गतिविधिमा गुटबन्दी बढ्दै जाँदा आफूलाई निरन्तर दबाब र असहयोग भएको अनुभव भएको बताउनुभएको छ। उहाँले हाल तत्काल कुनै दलमा प्रवेश गर्ने अवस्था नरहेको बताउँदै राजनीतिबाट केही समयका लागि विश्राम लिने संकेत गर्नुभएको छ।

कोशी प्रदेश अधिवेशनमा सभापतिको प्रतिस्पर्धामा रहनुभएकी तामाङ पराजित हुनुभएको थियो। अधिवेशनको परिणामपछि पार्टीभित्र असन्तुष्टि र आन्तरिक विवाद सतहमा आएको बताइएको छ।

पार्टी परित्यागसँगै उहाँले राजनीतिक भविष्यबारे तत्काल कुनै योजना नरहेको बताउँदै समय आएपछि विस्तृत धारणा सार्वजनिक गर्ने संकेत गर्नुभएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  २० : १८  बजे