संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

काठमाडौं, २८ जेठ । संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले बिहीबार ललितपुरस्थित मानभवनमा पुगेर तीन पूर्वप्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता गरेको हो।

भेटमा संविधान संशोधनका सम्भावित विषय, राजनीतिक सहमति निर्माणका आधार तथा आगामी प्रक्रियाबारे सुझाव र धारणा आदानप्रदान गरिएको जनाइएको छ।

कार्यदलका संयोजक असिम शाहसहितको टोलीले संविधान कार्यान्वयनका अनुभव, संघीय शासन प्रणाली, समावेशीता तथा सुधार गर्नुपर्ने विषयहरूबारे पनि पूर्वप्रधानमन्त्रीहरूको राय लिएको बताइएको छ।

कार्यदलले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्ने उद्देश्यसहित विभिन्न राजनीतिक दलका नेता, पूर्वपदाधिकारी, संविधानविद् तथा सरोकारवालासँग परामर्श र सुझाव संकलन अभियान सञ्चालन गरिरहेको जनाएको छ।

सरकारले संविधान संशोधनका विषयमा व्यापक राजनीतिक सहमति जुटाउने उद्देश्यका साथ विभिन्न पक्षसँग संवादलाई निरन्तरता दिएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  २० : ०९  बजे