काठमाडौं, २४ जेठ । नेपाल सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्न लागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। केही सञ्चारमाध्यममा आइतबारको बिदा हटाउने तयारी भइरहेको समाचार प्रकाशित भएपछि सरकारले औपचारिक रूपमा त्यसको खण्डन गरेको हो।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सरकारले हालसम्म यस विषयमा कुनै निर्णय नगरेको र आइतबारको बिदा खारेज गर्ने कुनै तयारीसमेत नभएको जानकारी दिनुभयो। उहाँले सार्वजनिक रूपमा फैलिएको भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण गराउँदै तथ्यहीन सूचनामा विश्वास नगर्न आग्रह गर्नुभयो।
उहाँका अनुसार हाल कायम रहेको शनिबार र आइतबारको सार्वजनिक बिदा यथावत् रहनेछ। यस सम्बन्धमा मन्त्रिपरिषद् वा सरकारका कुनै पनि निकायबाट नयाँ निर्णय नभएको उहाँले स्पष्ट पार्नुभयो।
यसअघि पश्चिम एसियामा देखिएको अस्थिरता, इन्धनको मूल्यवृद्धि तथा जनजीवनमा परेको आर्थिक प्रभावलाई मध्यनजर गर्दै सरकारले गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरिएको हो।
त्यसैगरी, सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो।
सरकारले आइतबारको बिदा खारेज हुने हल्लाले सर्वसाधारणमा अन्योल सिर्जना गरेको भन्दै आधिकारिक जानकारीबाहेकका समाचारप्रति सचेत रहन आग्रह गरेको छ।








प्रतिक्रिया