कम्युनिष्ट आन्दोलनले इतिहासकै ठुलो धक्का बेहोरेको छ, फेरि राष्ट्रिय शक्तिका रूपमा स्थापित हुन्छौँ : विष्णु पौडेल

काठमाडौं, २० जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनले पछिल्लो अवधिमा इतिहासकै सबैभन्दा ठुलो धक्का र पराजय बेहोरेको भए पनि त्यसलाई चिर्दै पुनः सशक्त रूपमा अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा आजदेखि सुरु भएको पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै उहाँले पार्टी अहिले संगठनात्मक जीवनको कठिन चरणबाट गुज्रिरहेको उल्लेख गर्दै त्यसको सामना एकताबद्ध भएर गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘आज पार्टीले संगठनात्मक जीवनमा ठुलो समस्या झेलिरहेको छ । यसको सामना गर्न हामी सबै एकजुट भएर अघि बढ्न आवश्यक छ ।’ उपाध्यक्ष पौडेलले कुनै पनि राजनीतिक दलको भविष्य त्यसका सदस्यहरूको गुणस्तर, विचार र प्रतिबद्धताले निर्धारण गर्ने भएकाले सदस्यताको प्रश्नलाई सामान्य प्रशासनिक विषयका रूपमा लिन नहुने धारणा राख्नुभयो ।

‘पार्टी सदस्य कस्ता छन् भन्ने कुराले पार्टीको भविष्य निर्धारण गर्छ। त्यसैले सदस्यताले पार्टी जीवनमा विशेष महत्व राख्छ,’ उहाँले भन्नुभयो, ‘सदस्यताको प्रश्न केवल राजनीतिक विषय मात्र होइन, यो वैचारिक मूल्य, मान्यता र नीतिसँग जोडिएको विषय पनि हो।’

उहाँले पार्टी सदस्यतालाई विचार, नीति र संगठनात्मक अनुशासनसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो । पौडेलले भदौ २३ र २४ गतेदेखि फागुन २१ सम्मको राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै उक्त अवधिमा नेपालको कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का बेहोरेको बताउनुभयो।

‘यो धक्का नेपालको कम्युनिष्ट इतिहासकै सबैभन्दा ठुलो धक्का र पराजय हो,’ उहाँले भन्नुभयो, ‘तर हामी यो असफलतालाई चिर्नेछौँ। हामी फेरि उठ्नेछौँ र जनता तथा राष्ट्रप्रति समर्पित भएर अगाडि बढ्नेछौँ ।’ उहाँले कम्युनिष्ट आन्दोलनको इतिहास संघर्ष, उतारचढाव र पुनरुत्थानको इतिहास भएको उल्लेख गर्दै अहिलेको चुनौती पनि पार गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।

‘हाम्रो आन्दोलन फेरि जुरमुराएर अगाडि बढ्छ। नेकपा एमाले फेरि राष्ट्रिय शक्तिका रूपमा स्थापित हुन्छ,’ उहाँले भन्नुभयो । उपाध्यक्ष पौडेलले राजनीतिक आन्दोलन र संगठन निर्माणमा समयको महत्व अत्यन्त ठुलो हुने उल्लेख गर्दै सही समयमा प्राप्त अवसरको सदुपयोग गर्न नसके आन्दोलन कमजोर बन्ने चेतावनी दिनुभयो ।

‘खास समयमा प्राप्त अवसरलाई उपयोग गर्न सकिएन भने समाप्त भइन्छ भन्ने कुरा ख्याल गरेर अघि बढ्न आवश्यक छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार एमालेले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र नेपालको आफ्नै राजनीतिक अनुभवबाट धेरै पाठ सिकेको छ । ती अनुभवलाई आत्मसात् गर्दै पार्टीले नयाँ ढंगले आफूलाई पुनर्गठित गरिरहेको उहाँको भनाइ थियो ।

पौडेलले जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा उल्लेख गर्दै त्यसकै आलोकमा पार्टीमाथि लगाइएका आरोप तथा आलोचनाको सामना गर्न सकिने बताउनुभयो । ‘जनताको बहुदलीय जनवादको आलोकमा सबै प्रकारका आरोपहरू चिरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले एमालेले लोकतान्त्रिक गणतन्त्रको स्थापना, राज्य र समाजको लोकतान्त्रीकरण तथा राजनीतिक अधिकार विस्तारका क्षेत्रमा महत्वपूर्ण योगदान गरेको दाबी गर्नुभयो । साथै पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले पार्टी जीवनको लोकतान्त्रीकरणमा एमाले स्पष्ट र प्रतिबद्ध रहेको बताउनुभयो।

‘राज्य र समाजको लोकतान्त्रीकरणका लागि एमालेले महत्वपूर्ण भूमिका खेलेको छ । अब पार्टी जीवनको लोकतान्त्रीकरणको प्रश्नमा पनि हामी उत्तिकै जीवन्त र सक्रिय भएर अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।

दुईदिने राष्ट्रिय कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला इन्चार्ज, भारत प्रवासका इन्चार्ज, प्रदेश कमिटी वा सोसरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहेको छ । कार्यशालाले सदस्यता नवीकरण, विस्तार, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशाबारे साझा दृष्टिकोण निर्माण गर्नेछ ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १८ : ५१  बजे