घर खानतलासीदेखि पीएसम्मलाई केरकार गरेपछि समातिए मेयर सिंह

काठमाडौं, १९ जेठ । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मंगलबार बिहान पर्साकै ठोरीस्थित रिसोर्टबाट पक्राउ पर्नुभएको छ । पर्साको विशेष टोलीले बिहान ६/७ बजे मेयर सिंहलाई ठोरी गाउँपालिका–३ ठोरी रिसोर्टबाट पक्राउ गर्न सफल भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाका अनुसार उहाँ पक्राउ पुर्जी जारी भएसँगै फरार हुनुभएको थियो। रिसोर्टबाट समातिएका सिंहमाथि अब लिखतसम्बन्धी कसुरमा पर्सा प्रहरीबाटै अनुसन्धान हुने बताइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीका अनुसार ५६ वर्षीय सिंहमाथि नागरिकतासम्बन्धी लिखत कसुरमा अनुसन्धान हुनेछ । १२ जेठमा पर्सा जिल्ला अदालतले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक हुनासाथ मेयर सिंह भने मोबाइल अफ गरेर सम्पर्कबिहीन हुनुभएको थियो ।भोलिपल्ट बुधबार भने उहाँ आफैं अदालत उपस्थित भएको विषय पनि सार्वजनिक भएको थियो । तर, अदालतले उहाँ माथिको मुद्दाको कारबाही तत्काल नहुने जानकारी गराएको बताइएको छ ।

त्यसपछि भने उहाँ फरार हुनुभएको थियो ।यो विषयमा भने प्रहरीले अदालतले गल्ती गरेको अनौपचारिक रुपमा बताएको छ । ‘अदालतले नै पक्राउ पुर्जी जारी गरेको व्यक्तिले अदालतमा आएको अवस्थामा ती व्यक्ति प्रहरीलाई जिम्मा लगाउनुपर्ने वा त्यसको जानकारी अदालतले प्रहरीलाई गर्नुपर्ने हो । तर, हामीले मेयर सिंहबाट अदालतले केही जानकारी गराएन । उहाँ अदालत उपस्थित भएपछि फरार हुनुभएको छ ’, एक प्रहरी अधिकारीले भने ।पक्राउ पुर्जी जारी भएका व्यक्ति अदालतबाट फरार भएको सार्वजनिक भएपछि यता पर्सा प्रहरीमाथि भने दबाब सिर्जना भएको थियो ।त्यसपछि पर्सा प्रहरीले मेयर सिंहलाई पक्राउ गर्न भनेर डीएसपी हरि बस्नेतको कमाण्डमा टोली नै गठन गरेको थियो । तर, करिब एक सातासम्म मेयर सिंह फरार नै हुनुभयो । सोमबार मात्रै प्रहरीले मेयर सिंहका पीएसँग सोधपुछ गरेको थियो ।यसअघि प्रहरीले मेयर सिंहको घर समेत खानतलासी गरेको थियो । त्यसपछि बल्ल एक सातापछि प्रहरीले मेयर सिंहलाई नियन्त्रणमा लिन सफल भएको हो । ‘हामीले घर खानतलासी गर्नेदेखि पीएलाई समेत केरकार भएपछि बल्ल मेयरलाई पक्राउ गर्न सफल भएका हौं’, ती प्रहरी अधिकारीले भने ।

के हो मेयरमाथिको आरोप ?

मेयर सिंहमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० को फागुनमै किटानी जाहेरी परेको थियो । त्यतिबेला प्रहरीले उक्त जाहेरी करिब १५ दिनसम्म होल्ड गरेर राखेको थियो । पछि चौतर्फी दबाब आएपछि बल्ल जाहेरी दर्ता भएको थियो ।
सिंह जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेर १० जेठ २०७९ मा मेयरमा निर्वाचित भएका थिए । २०८० कै पुसको अन्तिमतिर मेयर सिंहले आफू नक्कली बाबु बनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो ।
त्यसबेला जिल्ला प्रशासन कार्यालय, पर्साले छानबिन गर्दा ढड्डाबाट अनुसूची नै गायब भेटिएको थियो । प्रशासनले १३ साउन २०७५ मा उनलाई नागरिकता जारी गरेको विवरणहरु सार्वजनिक भएका थिए ।

यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए । पछि दोस्रो श्रीमती भनिएकी महिलाले अदालतमा अंश र डिभोर्सको मुद्दा समेत दिएको अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  १० : ५७  बजे