प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको गम्भीर आपत्ति, कूटनीतिक अपरिपक्वताको आरोप

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा “नेपालले पनि भारतको जग्गा मिचेको” भन्ने अभिव्यक्ति दिएको विषयमा नेकपा (एमाले) ले गम्भीर आपत्ति जनाएको छ।

एमाले महासचिव शंकर पोखरेल ले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रहित विपरीत भएको भन्दै कडा शब्दमा निन्दा तथा भर्त्सना गर्नुभएको छ।

पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्थापित कूटनीतिक अडान, द्विपक्षीय सम्बन्ध र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको राष्ट्रहित प्रतिकूल अभिव्यक्तिको नेकपा एमाले घोर निन्दा र भर्त्सना गर्दछ।”

एमालेले सीमा विवाद समाधानका लागि विद्यमान कूटनीतिक संयन्त्रहरूलाई बेवास्ता गर्दै बेलायत वा ब्रिटिस इन्डियाको प्रसंग जोडिनु पूर्णतः असान्दर्भिक र कूटनीतिक रूपमा अपरिपक्व भएको टिप्पणीसमेत गरेको छ।

प्रधानमन्त्री शाहले संसद्मा सीमा विवादबारे बोल्दै नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको हुनसक्ने जानकारी आफूले पाएको बताउनुभएको थियो। उक्त अभिव्यक्तिपछि राजनीतिक दल, सीमाविद् तथा विभिन्न क्षेत्रबाट निरन्तर प्रतिक्रिया आइरहेका छन्।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार  १५ : १४  बजे