काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन शाह ले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएपछि छ जना सीमाविद्हरूले संयुक्त विज्ञप्तिमार्फत खेद व्यक्त गर्दै स्पष्टीकरण र क्षमायाचनाको माग गरेका छन् ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ, डा. पीताम्बर शर्मा, डा. नरेन्द्र खनाल, डा. जगत भुसाल, प्रभाकर शर्मा र डा. द्वारिकानाथ ढुङ्गेल ले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले आफूहरूलाई आश्चर्यचकित बनाएको बताएका हुन् ।
वक्तव्यमा आजसम्म नेपालले भारतको सीमा अतिक्रमण गरेको भन्ने निष्कर्ष कुनै आधिकारिक निकायबाट सार्वजनिक नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले कुन आधार र प्रमाणका आधारमा यस्तो धारणा व्यक्त गर्नुभएको हो भन्ने स्पष्ट पार्न माग गरिएको छ ।
सीमाविद्हरूले नेपाल–भारत संयुक्त सीमा आयोगले आफ्नो अधिकांश काम सम्पन्न गरिसकेको भए पनि नेपालले भारतको भूमि मिचेको भन्ने कुनै आधिकारिक प्रतिवेदन सार्वजनिक नभएको उल्लेख गरेका छन् ।
उनीहरूले बरु महाकाली नदीको मुहान, लिपुलेक, लिम्पियाधुरा तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवाद अझै समाधान हुन बाँकी रहेको तथ्य स्थापित रहेको बताएका छन् ।
संयुक्त वक्तव्यमा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील भएकाले तथ्य र प्रमाणका आधारमा मात्र सार्वजनिक अभिव्यक्ति दिनुपर्ने उल्लेख गरिएको छ ।
सीमाविद्हरूले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नागरिकमा भ्रम सिर्जना गरेको दाबी गर्दै सार्वजनिक रूपमा स्पष्टीकरण दिन र उक्त भनाइप्रति क्षमायाचना गर्न माग गरेका छन् ।
साथै, प्रतिनिधिसभामा व्यक्त गरिएको उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष आग्रहसमेत गरिएको छ ।








प्रतिक्रिया