प्रतिनिधिसभा बैठकमा आक्रोशित देखिएकी आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर लगे

काठमाडौँ, १७ जेठ। प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्षबाट बाहिर लगेका छन् ।

प्रधानमन्त्री बालेन शाह ले आकस्मिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिएर बैठक कक्षबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाएका थिए । सोही क्रममा सांसद तामाङ आक्रोशित बनेकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार सांसद तामाङ आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ जान खोजेपछि रास्वपाकै सांसदहरूले उहाँलाई रोक्ने प्रयास गरेका थिए ।

रास्वपाकी सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठ लगायतले उहाँलाई शान्त गराउने प्रयास गर्दै रोक्नुभएको थियो ।

तर अवस्था सामान्य नभएपछि सांसद रञ्जु दर्शना र ज्वाला संग्रौलाले सांसद तामाङलाई बैठक कक्ष बाहिर लगेका थिए ।

घटनापछि केही समय सदनमा तनावपूर्ण वातावरण बनेको भए पनि बैठकको कार्यसूची भने अगाडि बढाइएको थियो ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  १५ : ०६  बजे