काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित सीमाक्षेत्रका विषयमा भारत र चीनसँग मात्र नभई बेलायत सरकारसँग पनि संवाद भइरहेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल जारी रहेको जानकारी दिनुभयो ।
उहाँले ब्रिटिस शासनकालमा निर्धारण गरिएका सीमासम्बन्धी विषय अहिले पनि विवादको कारण बनेकाले बेलायतले पनि यस विषयमा सरोकार राख्नुपर्ने नेपालको धारणा रहेको बताउनुभयो ।
“भारत र चीनमात्र होइन, बेलायत सरकारसँग पनि यस विषयमा कुरा गरेका छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “ब्रिटिस इन्डिया छाड्दाको समयका केही समस्या अहिलेसम्म कायम रहेकाले यसमा बेलायतको पनि जिम्मेवारी र सरोकार हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।”
प्रतिनिधिसभामा एमाले सांसद पद्मा अर्यालले नेपालका भूमि प्रयोग गरी भारत र चीनबीच व्यापारिक मार्ग खोलिएको विषयमा सरकारको धारणा माग गर्नुभएको थियो । सोही प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको र त्यसको जवाफ प्राप्त भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्राप्त जवाफमा दुवै देशले इतिहासविद् तथा सीमासम्बन्धी विज्ञहरू सम्मिलित टोलीमार्फत वार्ता गरी समस्याको समाधान खोज्ने सहमति व्यक्त गरेका छन् ।
यसैबीच प्रधानमन्त्री शाहले सीमा विवाद एकतर्फी नभएको उल्लेख गर्दै नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको हुन सक्ने जानकारी आफूले पाएको बताउनुभयो ।
“प्रधानमन्त्री भएपछि मैले पनि थाहा पाएँ, भारतले मात्र नेपालको भूमि मिचेको होइन, नेपालले पनि भारतको भूमि केही स्थानमा अतिक्रमण गरेको रहेछ,” उहाँले भन्नुभयो ।
उहाँले सीमा सम्बन्धी सबै विषय अध्ययन र तथ्यका आधारमा मित्रवत् ढंगले समाधान गरिने बताउँदै दुवै देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने गरी संवाद अघि बढाइने स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया