जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

काठमाडौँ, १७ जेठ । काठमाण्डौको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।

जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाण्डौको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।

त्यही घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एक जनालाई बेलुकी जडीबुटीबाट गोली चलाएर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार  ०८ : ०८  बजे