काठमाडौँ, १६ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन ले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालको प्रभावबाट स्थापित भएका राजनीतिक शक्तिहरू तीव्र गतिमा उदाए पनि छिट्टै ओरालो लाग्ने दाबी गर्नुभयो ।
पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै सांसद पुनले यस्ता शक्तिहरूमा स्पष्ट विचार, राजनीतिक आधार र सक्षम नेतृत्वको अभाव रहेको टिप्पणी गर्नुभयो ।
उहाँले अहिलेको डिजिटल युगमा एजेण्डा सामाजिक सञ्जालमार्फत तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने अवस्था रहेको बताउनुभयो । साथै भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्रमा भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गर्नुभयो ।
सांसद पुनले नयाँ भनिएका दलका केही मन्त्रीहरू छोटो अवधिमै पदमुक्त हुनुले उनीहरूको राजनीतिक आधार कमजोर रहेको देखाएको दाबी गर्नुभयो ।
“भर्चुअल दुनियाँबाट उठेको आन्दोलन तीव्र रूपमा उठ्छ र तीव्र रूपमै तल जान सक्छ । कुनै विचार, राजनीति, आन्दोलन, त्याग, बलिदान र वर्ग खडा गरेर आएको शक्ति होइन,” उहाँले भन्नुभयो । “नयाँ भन्नेहरू कोल्याप्स हुन्छन् र फेरि हाम्रै साथीहरू अगाडि आउनुहुन्छ ।”
उहाँले राजनीतिक विचार, त्याग र बलिदानको आधारबिना स्थापित भएका शक्तिहरूले समाजलाई दीर्घकालीन रूपमा नेतृत्व गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।
साथै, पञ्चायतविरुद्धको आन्दोलन तथा जनयुद्धजस्ता ऐतिहासिक राजनीतिक आन्दोलनहरूमा जस्तो बलियो संगठनात्मक आधार वर्तमान ‘भर्चुअल’ लहरमा नरहेकाले त्यस्ता राजनीतिक शक्तिहरू स्थायी नहुनेमा उहाँले जोड दिनुभयो ।








प्रतिक्रिया