अब मासिक ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लाग्ने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि सहुलियत दरमा भ्याट लगाइने घोषणा गर्नुभएको हो ।

बजेट मन्तव्यमा “अन्तिम तहका उपभोक्तालाई बिक्री गरिने मासिक ५० युनिटभन्दा बढीको विद्युत् खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु,” उल्लेख गरिएको छ ।

सरकारले मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई भने करमुक्त राख्ने व्यवस्था गरेको जनाएको छ ।

यसअघि विद्युत् उपभोगमा भ्याट लाग्ने व्यवस्था थिएन । आगामी आर्थिक वर्षदेखि भने सरकारले विद्युत्लाई समेत करको दायरामा ल्याउने नीति अघि सारेको हो ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  २० : ४५  बजे