मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

काठमाडौं, ११ जेठ । काठमाडौं, ११ जेठ । मधेश प्रदेशमा सरकार विस्तार प्रक्रिया सत्तारुढ दलहरूबीचको आन्तरिक असन्तुष्टि र सहमति अभावका कारण पुनः ढिलाइ भएको छ। नेकपा एमालेबाट मन्त्री नियुक्तिका लागि तयारी गरिएका तीन जना सांसद शपथ ग्रहण नगरी फर्किएका छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा एमालेका सांसदहरू शरदादेवी थापा, मनोजकुमार सिंह र लखन दासलाई आज साँझ ५ बजे मन्त्री नियुक्त गरी शपथ ग्रहण गराउने तयारी गर्नुभएको थियो। तर सत्तारुढ दलहरूबीच सहमति नजुटेपछि प्रक्रिया रोकिएको हो।

स्रोतका अनुसार सरकार विस्तार र भागबन्डाबारे असन्तुष्टि चुलिएपछि सत्तारुढ दलहरूबीच करिब अढाइ घण्टा लामो वार्ता भएको थियो। वार्तापछि १३ बुँदे सहमतिको खाका तयार गरिएको छ।

उक्त सहमतिमा आगामी बजेटमा १ करोड रुपैयाँभन्दा कमका योजना नराख्ने, योजना कार्यान्वयन खुला प्रतिस्पर्धाबाट गर्ने, मन्त्रालय संख्या ९ वटामा सीमित गर्ने, कर्मचारी सरुवाका लागि स्पष्ट मापदण्ड बनाउने तथा म्याद सकिएका उपभोक्ता समितिका सबै निर्णय र चिठ्ठी रद्द गर्ने जस्ता विषय समेटिएका छन्।

यसअघि ९ बुँदे सहमति भए पनि हस्ताक्षर नभएकाले कार्यान्वयनमा जान सकेको थिएन। अहिले त्यसलाई परिमार्जन गर्दै १३ बुँदामा विस्तार गरिएको हो।

सहमति भएपछि भोलि मंगलबार दिउँसो २ बजे एमालेबाट तीन मन्त्रीसहित नेकपाबाट समेत अर्थमन्त्री नियुक्त गरी शपथ ग्रहण गराइने तयारी रहेको बताइएको छ।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  २० : ३५  बजे