देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं, ११ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणालाई सम्पत्ति शुद्धीकरण कसुरमा तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा जारी गरिएको पक्राउ पुर्जीविरुद्ध देउवा पक्षले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो।

सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको रहेको उल्लेख गर्दै काठमाडौं जिल्ला अदालतबाट २०८२ चैत १४ गते जारी गरिएको पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने ठहर गरेको छ।

देउवा दम्पतीले आफूहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत खुलाउन इच्छुक रहेको तथा पक्राउ आवश्यक नभएको जिकिरसहित सर्वोच्चमा रिट दायर गर्नुभएको थियो।

यसअघि सरकार पक्षले देउवाविरुद्ध रेडकर्नर नोटिस जारी गरी इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीसमेत गरेको थियो।

प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार  १९ : ३६  बजे