काठमाडौं, ११ जेठ । थापागाउँमा रहेको ‘एक थिएटर नेपाल’मा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ को प्रदर्शन राजनीतिक दबाबका कारण रोकिएको छ।
थिएटरका सञ्चालक निरज सुब्बाले निर्देशक सहलेसबाट नाटक रोकिएको जानकारी प्राप्त भएको बताउनुभएको छ। उहाँका अनुसार पछिल्लो समय नाटकलाई लिएर विभिन्न राजनीतिक तथा व्यक्तिगत दबाब बढ्दै गएको थियो।
नाटकसँग आबद्ध कलाकारहरूले ज्यान मार्ने धम्की आएको भन्दै असुरक्षा महसुस गरिरहेको जनाइएको छ। एक कलाकारले शनिबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू नाटकबाट अलग भएको जानकारीसमेत दिनुभएको थियो।
थिएटर व्यवस्थापनका अनुसार केही व्यक्तिहरू थिएटरमै पुगेर नाटक प्रदर्शन नगर्न दबाब दिनुका साथै निर्देशकलाई व्यक्तिगत फोनमार्फत धम्कीसमेत दिइएको थियो।
यस घटनाप्रति नाट्य क्षेत्रका व्यक्तित्वहरूले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। युवराज घिमिरे ले सिर्जनामाथि दबाब र बन्देज लगाउने प्रयास लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गर्नुभएको छ।
उहाँले “सिर्जनालाई बन्देज गरेर कुनै पनि राज्य बलियो हुन सक्दैन” भन्दै ‘लुसिफर राइजिङ’ को प्रदर्शन रोकिएको घटनालाई प्रजातान्त्रिक समाजका लागि गलत संकेतका रूपमा व्याख्या गर्नुभएको छ।








प्रतिक्रिया