दुर्गा प्रसाईंलाई आइतबारपछि थुनामा नराख्न सर्वोच्चको आदेश

काठमाडौं, ८ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई आइतबारपछि हिरासतमा नराख्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

सर्वोच्च अदालतले पछिल्लो पटक जिल्ला अदालत पर्साले दिएको चार दिनको हिरासत अनुमति समाप्त भए पनि थप म्याद नथप्न तथा अनुसन्धान सकिए पनि नसकिए पनि उहाँलाई हिरासतमुक्त गर्न निर्देशन दिएको हो।

यसअघि जिल्ला अदालत पर्साले उहाँलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने त्यसअघि तीन दिनसम्म हिरासतमा राखिएको थियो।

प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुग्नुभएको बेला प्रहरीले पक्राउ गरेको हो। हाल उहाँ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहनुभएको छ।

उहाँको तर्फबाट बन्दी प्रत्यक्षीकरण (हबियस कोर्पस) निवेदन दायर गरिएको थियो। सोही मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेय को इजलासले उक्त आदेश जारी गर्नुभएको हो।

वीरगञ्जको होटल सिद्धार्थ दियालोमा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिका आधारमा उहाँलाई साइबर अपराध र राज्यविरुद्धको कसुरमा पक्राउ गरिएको हो।

अदालतले प्रसाईं घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्छ र नियमित उपचार तथा चिकित्सकीय निगरानी आवश्यक रहेको अवस्था रहेको उल्लेख गरेको छ।

सर्वोच्चको आदेशसँगै अनुसन्धान तोकिएको समयसीमाभित्र पूरा भए पनि नभए पनि उहाँलाई हिरासतमा नराखी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार  २० : ३०  बजे