काठमाडौं, ३१ वैशाख । केही दिनअघि कीर्तिपुरको पोडेटोलमा खुकुरी प्रहार गरी हत्या गरिएका गुल्मीका विपिन घिमिरेका हत्या आरोपी पक्राउ परेका छन्। उनलाई नियन्त्रण लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो। हवाई फायरपछि प्रहरीलाई आक्रमण गर्न तम्सिएका सुजन शाहीलाई नियन्त्रण लिन गोली चलाइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार आरोपित सुजन शाही कीर्तिपुरको चोभार एरियामा लुकेर बसेको सूचना प्रहरीले पाएको थियो। सूचना पछ्याउँदै जाँदा उनी चोभार जाने सडकमा फेला परेका थिए। उनलाई नियन्त्रण लिन उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको थियो।
गोली प्रहारबाट सुजन शाही घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ। शाहीले नै विपिन घिमिरेमाथि खुकुरी प्रहार गरेको प्रहरीको आशंका छ। घाइते अवस्थामा नियन्त्रणमा लिएर उनलाई अस्पताल पठाइएको खड्काले बताउनुभयो । कीर्तिपुर नगरपालिका१० स्थित पोडेटोलमा खुकुरी प्रहारबाट गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो। धारिलो हतियार प्रहारबाट घाइते भएका घिमिरेको उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो। खुकुरी प्रहारमा संलग्नहरूको प्रहरीले खोजी गर्दै आएकोमा आज नियन्त्रणमा लिने क्रममा गोली नै चलाइएको हो।








प्रतिक्रिया