काठमाडौं, २९ वैशाख ।श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्लाई सम्बोधन नगरेको विषयमा गम्भीर प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारमा प्रधानमन्त्रीको उपस्थिति र भूमिकाबारे प्रश्न गर्दै सदनमा स्पष्टता माग गरे।
“यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन?” उनले भने, “सांसदहरूको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन? सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो।”
उनले प्रधानमन्त्रीले जनप्रतिनिधिको प्रश्नको जवाफ नदिनुलाई असक्षमता भएको टिप्पणी गरे।
“प्रश्नको जवाफ नदिनु भनेको असक्षमता हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नु भएको हो त?” उनले प्रश्न गरे।
उनले नागरिकको जीउधनको सुरक्षा, सीमा रक्षा तथा राष्ट्रिय हितका विषयमा सरकारको भूमिकाप्रति पनि प्रश्न उठाए।
त्यसैगरी, सीमावर्ती क्षेत्रमा भइरहेको निर्माण कार्यबारे पनि सरकारको धारणा स्पष्ट गर्न माग गरे।
“सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिएको हो वा आपूखुसी गरिएको हो?” उनले भने, “महाकाली नदीको तटमा पारिपट्टी भइरहेको निर्माणलाई हामीले देख्न सक्छौं।”
सांसद साम्पाङको अभिव्यक्तिले संसद्भित्र सरकारको जवाफदेहिता र कार्यशैलीबारे थप बहस सुरु भएको छ।








प्रतिक्रिया