आफ्नै दलका सांसद विवादमा: नक्सापासबिनै र लालपूर्जा नभएको जग्गामा केपी खनालको तीनतले घर

काठमाडौं, २० वैशाख । कैलालीमा सत्तारूढ दलकै सांसदको घरबारे गम्भीर प्रश्न उठेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचनामाथि डोजर अभियान चलाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालको घरसमेत नक्सापासबिनै र लालपूर्जा नभएको जग्गामा बनेको खुलेको हो।

कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक निर्माणाधीन उक्त तीनतले घर ऐलानी (सार्वजनिक) जग्गामा रहेको स्थानीय तहले पुष्टि गरेको छ। नगरपालिकाका अनुसार सो घरको नक्सापाससमेत गरिएको छैन भने जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपूर्जा पनि जारी भएको छैन।

नगर प्रमुख शुशिला शाहीले सांसद खनालको घर रहेको क्षेत्र अव्यवस्थित बसोबासमा पर्ने बताउँदै भूमि आयोगमार्फत प्रक्रिया अघि बढे पनि हालसम्म लालपूर्जा जारी नभएको जानकारी दिनुभयो। उहाँका अनुसार ऐलानी जग्गामा बनेका संरचनाको नक्सापास हुने कानुनी व्यवस्था नभएकाले उक्त घरको नक्सा पनि स्वीकृत छैन।

सांसद खनालका स्वकीय सचिव हर्क पुनले भने घर ऐलानी जग्गामा रहेको स्वीकार्दै अतिक्रमण गरेर नभई परिवारको लगानीमा निर्माण गरिएको दाबी गर्नुभएको छ। उनका अनुसार खनालका बुबाआमाले भारतमा मजदुरी गरेर कमाएको रकमबाट उक्त घर बनाइएको हो।

निर्वाचनका बेला आफूलाई भूमिहीन तथा सुकुम्बासी पृष्ठभूमिको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै मतदाताबाट समर्थन जुटाएका खनाल अहिले आफैं मापदण्डविपरीत घर निर्माणमा संलग्न भएको विषय सार्वजनिक भएपछि राजनीतिक वृत्तमा आलोचना सुरु भएको छ।

भूमि समस्या समाधान आयोग कैलालीका अनुसार लम्कीचुहा क्षेत्रमा मात्रै १६ हजारभन्दा बढी अव्यवस्थित परिवार बसोबास गरिरहेका छन् भने जिल्लाभर करिब १ लाख ४० हजार परिवारले भूमिसम्बन्धी समस्या समाधानका लागि निवेदन दिएका छन्।

सरकारले एकातर्फ अवैध संरचना हटाउने अभियान तीव्र बनाइरहेको र अर्कोतर्फ आफ्नै दलका सांसदको घरसमेत मापदण्डविपरीत देखिएको सन्दर्भले नीतिगत दोहोरो मापदण्डबारे प्रश्न उठ्न थालेका छन्। अब यस्ता संरचनामाथि समान रूपमा कारबाही हुन्छ कि हुँदैन भन्ने चासो व्यापक रूपमा बढेको छ।

प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार  ०७ : ३१  बजे