काठमाडौं, २३ चैत्र । भक्तपुर प्रहरीले स्वीप अपरेसन चलाएर ९० जनाभन्दा बढीलाई पक्राउ गरेको छ। शनिबार ६० जना र आइतबार ३० जना गरी ९० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले जानकारी दिनुभयो।
सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागुपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायतलाई पक्राउ गरिएको हो।
परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरिएको उहाले बताउनुभयो। पक्राउ परेका सबैको अनुसन्धानपछि अपराधिक घटनामा संलग्न नभएका पाइए छाडिने उहाँले बताउनुभएको छ।परिसरले स्वीप अपरेसन जारी राखेको छ। समाजमा शान्तिसुरक्षा कायम राख्ने मुख्य उद्देश्यले स्विप अप्रेसन सुरु गरिएको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि आजदेखि उक्त अप्रेसन सञ्चालन गरिएको बताउनुभयो।परिसर प्रमुख खड्काले अपरेसनले स्थानीयमा डरत्रासको वातावरण अन्त्य हुनुका साथै जात्रालाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।







प्रतिक्रिया