गुन्डागर्दीविरुद्ध प्रहरीको विशेष अपरेसन, २४ घण्टामा उपत्यकाबाट २९ जना पक्राउ

काठमाडौं, २२ चैत्र   काठमाडौं उपत्यकाभित्र गुन्डागर्दी तथा आपराधिक समूहको प्रभाव नियन्त्रण गर्न प्रहरीले विशेष सफाइ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत २४ घण्टाभित्र विभिन्न समूहमा संलग्न २९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेसनमा शुक्रबार राति एकैपटक २९ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये १६ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले तथा १३ जनालाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार सर्वसाधारणलाई धम्की, प्रभाव र हैकम जमाउने प्रवृत्तिविरुद्ध विशेष अभियान सञ्चालन गरिएको हो।

उहाँले भन्नुभयो, “सेवाप्रवाहका क्रममा सर्वसाधारणले दुःख पाएको गुनासो आएको थियो। विभिन्न आपराधिक समूहको प्रभावका कारण यस्तो अवस्था सिर्जना भएको निष्कर्षसहित विशेष अपरेसन सुरु गरिएको हो।”

प्रहरीका अनुसार पक्राउ पर्नेहरू उपत्यकाका विभिन्न क्षेत्रमा सक्रिय रही गुण्डागर्दी, धम्की तथा असामाजिक गतिविधिमा संलग्न थिए। पक्राउ पर्नेमा काभ्रेका सञ्जीव लामा, राजुकुमार तामाङ, विनोद तामाङ र शेर्पा तामाङ रहेका छन्।

यस्तै खोटाङका सुरेश गुरुङ (पेम्बा), संगम राई र राहुल राई, नुवाकोटका सम्सन तामाङ र सुदनबहादुर तामाङ, सिन्धुपाल्चोकका अशोक गिरी, कालीकोटका वकिल बम, मकवानपुरका वीरबहादुर लामा तथा ललितपुरका महेश महत पनि पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी मनोहर भट्टका अनुसार पक्राउ परेकाहरू लामो समयदेखि प्रहरी निगरानीमा थिए।

उहाँले भन्नुभयो, “उपत्यकाभित्र सक्रिय गुण्डा समूहविरुद्ध उच्च निगरानीपछि शुक्रबार मध्यराति १३ जनालाई पक्राउ गरिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।”

यता जिल्ला प्रहरी परिसर काठमाडौंले श्याम लामा, प्रवीण गुरुङ, बिर्जु महर्जन, सुनज कार्की, सरु हुमागाईंलगायत १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले गुण्डागर्दीविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आएको उल्लेख गर्दै यो अभियान निरन्तर जारी रहने स्पष्ट पारेको छ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “यो एकपटकको कारबाही मात्र होइन। गुण्डागर्दी र आपराधिक प्रभाव नियन्त्रणका लागि अभियान निरन्तर चलिरहनेछ।”

प्रहरीको यो अपरेसनलाई उपत्यकामा सुरक्षा व्यवस्था सुदृढ पार्ने र सर्वसाधारणमाथि हुने दबाब कम गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार  ०९ : १७  बजे