काठमाडौं, २१ चैत । सामाजिक सञ्जालमार्फत लक्षित साइबर बुलिङ तथा अनलाइन दुर्व्यवहारको घटनामा नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई रौतहटबाट पक्राउ गरेको छ। पीडित अमिशा पराजुलीले औपचारिक उजुरी दर्ता गराएपछि अनुसन्धान तीव्र बनाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित साइबर ब्यूरो कार्यालय ल्याउने तयारी गरिएको छ।
यो प्रकरण अमिशा पराजुली ले सामाजिक सञ्जालमा लक्षित अपमान, चरित्रहत्या र धम्कीबारे दिएको उजुरीसँग सम्बन्धित रहेको बताइएको छ। पराजुलीले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेपछि आफूविरुद्ध योजनाबद्ध साइबर बुलिङ भएको भन्दै प्रमाणसहित उजुरी दर्ता गराएकी थिइन्।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा डिजिटल प्रमाण संकलनको काम पनि जारी छ। सामाजिक सञ्जालका विभिन्न अकाउन्ट, पोस्ट, कमेन्ट र सन्देशहरूको प्राविधिक विश्लेषण गर्दै थप व्यक्तिमाथि निगरानी बढाइएको जनाइएको छ।
साइबर ब्यूरोले आवश्यक प्रमाणका आधारमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। नेपालको विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर बुलिङ, चरित्रहत्या र अनलाइन धम्कीलाई दण्डनीय अपराधका रूपमा हेरिने व्यवस्था छ।
यस घटनापछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। विशेषगरी महिलामाथि हुने अनलाइन हिंसा र लक्षित दुर्व्यवहारबारे पुनः बहस सुरु भएको छ। पछिल्ला वर्षहरूमा नेपालमा साइबर हिंसाका घटनाहरू बढ्दै गएको तथ्यांकले पनि देखाएको छ।
सुरक्षा निकायले यस विषयमा थप संवेदनशीलता अपनाउँदै अन्य संलग्न व्यक्तिहरूमाथि निगरानी र अनुसन्धान जारी राखेको जनाएको छ।








प्रतिक्रिया