खाडी मुलुकमा युद्धको अफवाह फैलाउने ११ नेपाली पक्राउ

काठमाडौं, २० चैत्र ।  इजरायल–अमेरिका र इरानबीच जारी युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा पश्चिम एसियाका विभिन्न मुलुकमा ११ जना नेपाली पक्राउ परेका छन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार पक्राउ पर्नेमा साउदी अरेबियामा चार जना, युनाइटेड अरब इमिरेट्स (यूएई) मा तीन जना, कतारमा तीन जना र ओमानमा एक जना रहेका छन्।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार युद्धका क्रममा क्षेप्यास्त्र तथा ड्रोन आक्रमणसँग सम्बन्धित तस्बिर, भिडियो वा श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा डर–त्रास फैलाउने उद्देश्यले पोष्ट गर्नु त्यहाँका कानुनअनुसार दण्डनीय अपराध हो।

उहाँले भन्नुभयो, “हालसम्म ११ नेपाली नागरिकलाई यस्ता सामग्री सामाजिक सञ्जालमा राखेर सम्बन्धित देशको कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको छ।”

प्रवक्ता क्षेत्रीका अनुसार पक्राउ परेका नेपालीहरूको अवस्था, उनीहरूलाई छुटाउन सकिने सम्भावना, कुन कानुनअन्तर्गत पक्राउ गरिएको हो तथा कति जरिवाना लाग्न सक्छ भन्ने विषयमा सम्बन्धित देशस्थित नेपाली दूतावास र नियोगमार्फत जानकारी संकलन भइरहेको छ।

उहाँले थप भन्नुभयो, “पक्राउ परेका नेपाली नागरिकको अवस्थाबारे सम्बन्धित देशका दूतावास र नियोगहरूसँग समन्वय भइरहेको छ।”

युद्धको प्रभावका कारण मध्यपूर्वमा रहेका नेपाली कामदारले रोजगारी गुमाउनुपर्ने ठूलो जोखिम भने हालसम्म नदेखिएको मन्त्रालयले जनाएको छ। विशेषगरी होटल, रेस्टुरेन्ट र पर्यटन क्षेत्रमा कार्यरत नेपालीहरूमा चिन्ता बढे पनि व्यापक रूपमा रोजगार गुम्ने खतरा नरहेको सम्बन्धित नियोगहरूले जानकारी दिएका छन्।

युद्धबाट प्रभावित र असुरक्षित महसुस गरी स्वदेश फर्किन चाहने नेपाली नागरिकको उद्धार कार्य निरन्तर जारी रहेको पनि मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा सञ्चालन गरिएको कल सेन्टरमा उडानको अवस्था, स्वदेश फर्किने प्रक्रिया तथा श्रम स्वीकृतिबारे धेरै जिज्ञासा आउने गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो।

उहाँका अनुसार हालसम्म ८६ हजार ४२० जना नेपालीले नाम दर्ता गराएका छन्।
“असुरक्षित महसुस गर्नेहरूको संख्या क्रमशः घट्दै गएको छ। धेरैजसोले अहिले आफू सुरक्षित रहेको र यहीँ काम जारी राख्ने जानकारी दिन थालेका छन्,” उहाँले भन्नुभयो।

ट्रान्जिटमा अलपत्र परेका नेपालीहरूको उद्धार कार्य पनि लगभग पूरा भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार  १९ : ३८  बजे