काठमाडौं, १८ चैत्र। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, गुम्बाचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार बिहान दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब ११:२५ बजे, हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
ठक्करमा मोटरसाइकल चालक, १९ वर्षीय रोनिक कार्की (हेटौँडा–४, कर्रा) सामान्य घाइते भएका छन् भने सोही मोटरसाइकलमा पछाडि सवार १८ वर्षीया एकता वैद्य (हेटौँडा–९) गम्भीर घाइते भएकी थिइन्। ठक्करपछि वैद्य नवलपरासीबाट सिमेन्ट बोकी वीरगन्जतर्फ जाँदै गरेको ट्रक (ना ६ ख ३१४५) सँग समेत ठोक्किएकी थिइन्।
गम्भीर घाइते वैद्यलाई हेटौँडा अस्पताल लगिएको थियो जहाँ दिउँसो १२:२० बजे चिकित्सकले उनको मृत्यु घोषणा गरेका छन्।
अर्को मोटरसाइकल चालक, २१ वर्षीय पुष्पलाल गुरुङ (चितवन, इच्छाकामना–५, बदेलटार) पनि घाइते भएका छन्। घाइते दुवैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल र ट्रक तथा ट्रक चालक ३३ वर्षीय बद्री गडरिया (बाँके, कोहलपुर–१४)लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।







प्रतिक्रिया