जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी दिएको आरोप

काठमाडौं, १७ चैत । नेकपा निकट युवा संगठन जेन-जी रेड फोर्सकी संयोजक स्मृति तिमल्सिना लाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी का सादा पोसाकका टोलीले मंगलबार बिहान करिब ११ बजे अनामनगर क्षेत्रबाट उहाँलाई नियन्त्रणमा लिएको बताइएको छ। पक्राउपछि उहाँलाई भद्रकाली स्थित प्रहरी परिसरमा लगिएको थियो।

पक्राउपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै तिमल्सिनाले आफूलाई सरकारको आलोचना गरेको कारण नियन्त्रणमा लिइएको बताउनुभएको छ। उहाँका अनुसार प्रहरीले रिहा गर्ने क्रममा भविष्यमा सरकारविरुद्ध कुनै पनि भिडियो सामग्री नबनाउने लिखित प्रतिबद्धता गराउनुभएको थियो।

उहाँले भन्नुभएको छ, “प्रहरी कार्यालयमा लिखित कागज गराएर मात्र मलाई छाडिएको छ। भिडियो बनाउनुअघि गृह मन्त्रालयको अनुमति लिनुपर्ने चेतावनी पनि दिइएको छ।”

तिमल्सिना तत्कालीन माओवादी निकट युवा कार्यकर्ता रहनुभएको थियो र नेकपाले गत असोज २९ गते उहाँलाई जेन-जी रेड फोर्सको संयोजकको जिम्मेवारी दिएको थियो। उक्त संगठनले देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।

यस घटनाले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार सम्बन्धी विषयमा नयाँ बहस सिर्जना गरेको छ। यद्यपि, घटनाबारे सरकारका तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १५ : ००  बजे