काठमाडौं, १६ चैत । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफू फरार भएको भन्दै फैलाइएको प्रचार भ्रामक र नियोजित भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले यस्तो हल्ला पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलन कमजोर पार्ने षड्यन्त्र भएको दाबी गरेका छन्।
उनले आफ्नो विरुद्ध करिब तीन वर्षअघि एउटा ‘फेक’ व्यक्तिलाई अघि सारेर झुट्टा मुद्दा दायर गरिएको उल्लेख गर्दै प्रहरी अनुसन्धानबाट उक्त विषय पहिले नै फर्जी प्रमाणित भइसकेको जिकिर गरे।
बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “म फरार भएको भन्ने प्रचार पूर्ण रूपमा भ्रम फैलाउने उद्देश्यले गरिएको हो। यो राजनीतिक रूपमा सिर्जित दुष्प्रचार बाहेक केही होइन।”
उनको भनाइमा पछिल्लो समय पार्टी नेतृत्वविरुद्ध भइरहेको कारबाहीको विरोधमा देशभर भइरहेको आन्दोलनलाई कमजोर पार्न लक्षित गरी यस्ता समाचार र अफवाह फैलाइएको हो।
यस विषयमा प्रहरी प्रशासन वा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।







प्रतिक्रिया