काठमाडौं, १५ चैत । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल ले विरोधपत्र बुझाउन आएका एमाले नेता–कार्यकर्तालाई प्रशासन राजनीतिक विषयमा प्रवेश नगर्ने स्पष्ट पार्नुभएको छ।
अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रम अन्तर्गत काठमाडौंमा पनि नेता–कार्यकर्ता प्रशासन कार्यालय पुगेका थिए। सोही क्रममा प्रजिअ पौडेलले प्रशासनको भूमिका निष्पक्ष र व्यावसायिक हुने बताउनुभयो।
“राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौँ, हाम्रो न्युट्रालिटी र प्रोफेसनालिज्मअनुसार अघि बढ्छौँ,” उहाँले भन्नुभयो। यस क्रममा एमालेका नेताले यो विषय कानुनी पनि भएको भन्दै धारणा राखे पनि प्रजिअ पौडेलले त्यसमा थप बहस नगर्ने बताउनुभयो।
उहाँले प्रदर्शनका क्रममा केही स्थानमा हिंसात्मक गतिविधि भएको उल्लेख गर्दै संलग्नमाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो। “कानुनको सीमाभित्र रहेर सबैले काम गर्नुपर्छ,” उहाँको भनाइ थियो।
शनिबारदेखि जारी विरोध प्रदर्शनका क्रममा माइतीघर–बिजुलीबजार क्षेत्रमा तोडफोड तथा आगजनीका घटना समेत भएका थिए। प्रजिअ पौडेलले सुरक्षाकर्मीलाई संयमित रहन निर्देशन दिइएको बताउँदै प्रदर्शनकारीलाई पनि शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आग्रह गर्नुभएको छ।







प्रतिक्रिया