काठमाडौं, १५ चैत । तिब्बती निर्वासित सरकारका प्रमुख नेता पेम्पा छेरिङ ले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट उहाँले औपचारिक बधाई सन्देश पठाउनुभएको हो।
उहाँले पठाउनुभएको सन्देशमा हालै सम्पन्न जेन–जेड नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा शाहको उदय हुनु नेपाली जनताको, विशेषगरी युवापुस्ताको आकांक्षाको सशक्त प्रतीक भएको उल्लेख गर्नुभएको छ।
सन्देशमा नेपाल र तिब्बतबीच लामो समयदेखि कायम ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धको स्मरण गर्दै नेपालमा बसोबास गरिरहेका तिब्बती समुदायले आफ्नो पहिचान जोगाउँदै देशको सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्याउँदै आएको उल्लेख गरिएको छ। साथै, यसका लागि नेपाल सरकार र नेपाली जनताप्रति कृतज्ञता व्यक्त गरिएको छ।
अन्त्यमा उहाँले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै नेपालले उहाँको नेतृत्वमा प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।
भारतको धर्मशालामा रहनुभएका सिक्योङ छेरिङ तिब्बती निर्वासित सरकारका प्रमुख हुनुहुन्छ। निर्वाचित तिब्बती प्रशासनले नेपालका नवनिर्वाचित प्रधानमन्त्रीलाई बधाई दिएको यो सम्भवतः पहिलोपटक मानिएको छ।







प्रतिक्रिया