रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालन, डाइभर्सन पुनर्निर्माण जारी

बनेपा, १५  चैत  । वर्षासँगै रोसी खोला मा आएको बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।

शुक्रबार साँझ परेको अविरल वर्षापछि आएको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्मको डाइभर्सन सडक बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। यातायात बन्द भएपछि सयौं सवारी साधन बाटोमै रोकिएका थिए।

शनिबार बिहानैदेखि अस्थायी डाइभर्सन निर्माणको काम सुरु गरी फसेका सवारी साधनलाई सुरक्षित स्थानमा सारिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक का अनुसार आइतबार बिहानदेखि राजमार्गमा नियमित सवारी आवागमन पुनः सुरु गरिएको हो।

सडक डिभिजन कार्यालय भक्तपुर का प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश ले बाढीले बगाएको डाइभर्सन पुनर्निर्माण गरेपछि यातायात सञ्चालनमा आएको जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार साँझसम्म डाइभर्सन तयार गरी अवरुद्ध सवारी हटाइएको थियो।

बाढीले चौकीडाँडा, कटुञ्जे घुमाउने, चारसयबेशी, गिम्दी, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेशी र पिप्ले–सुख्खापहिरो क्षेत्रमा करिब पाँच किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो। ती सबै स्थानमा अस्थायी संरचना बनाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ।

यसअघि गत वर्ष असोजमा आएको बाढीले पनि सोही राजमार्गको ठूलो भागमा क्षति पुर्‍याएको थियो। हाल काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माण कार्य जारी रहेको जनाइएको छ। विभिन्न ठेक्का सम्झौताअनुसार सडक स्तरोन्नति र पुनर्निर्माणको काम अघि बढिरहेको छ।

हालसम्म पुनर्निर्माण भइरहेका खण्डहरूमा करिब २६ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय भक्तपुर ले जनाएको छ। आगामी वर्षायामसम्म खोलाको प्राकृतिक बहावअनुसार सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सकिने लक्ष्य राखिएको छ।

प्रहरी र सम्बन्धित निकायले मौसमको अवस्था मध्यनजर गर्दै यात्रुहरूलाई सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार  ०८ : ००  बजे