सरकारलाई महेश बस्नेतको चेतावनी- दिनगन्ती सुरु भइसक्यो, भोलि थप प्रतिरोधात्मक आन्दोलन गर्छौँ

काठमाडौं, १४ चैत्र । नेकपा (एमाले)का सचिव महेश बस्नेतले सरकारलाई कडा चेतावनी दिँदै वर्तमान कदमको मूल्य महँगो पर्ने बताउनुभएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई लक्षित गर्दै बस्नेतले पूर्वाग्रह र प्रतिशोधको राजनीतिले देशलाई गम्भीर संकटतर्फ धकेल्ने जिकिर गर्नुभयो।

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर्न माग गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाउनुभयो। “गलत निर्णयका कारण दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ,” उहाँले भन्नुभयो।

बस्नेतले वर्तमान परिस्थिति प्रति प्रश्न उठाउँदै देशलाई द्वन्द्वतर्फ लैजाने प्रयास भइरहेको हो कि भन्ने आशंका व्यक्त गर्नुभयो। साथै, शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमनको पनि उहाँले आलोचना गर्नुभयो।

उहाँले आन्दोलनका क्रममा घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था गर्न तथा पक्राउ परेकाहरूलाई अविलम्ब रिहा गर्न सरकारसँग माग गर्नुभयो।

यस्तै, वर्तमान अवस्था कायम रहे भोलि देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक हुने चेतावनी दिनुभयो। उहाँका अनुसार माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर जारी रहनेछ।

उच्च राजनीतिक तनावबीच सरकार र प्रमुख प्रतिपक्षबीचको टकराव झन् चर्किने संकेत देखिएको छ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार  १७ : ०६  बजे