काठमाडौं, ११ चैत्र । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनका क्रममा भ्रामक सूचना फैलाउने पाँच जना सोसल मिडिया इन्फ्लुएन्सरको पहिचान गरेको छ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनअनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने भ्रामक प्रचारमा संलग्न रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा आन्दोलनका क्रममा विभिन्न झुटा र अतिरञ्जित सूचनाहरू सामाजिक सञ्जालमार्फत फैलाइएको जनाइएको छ। जसअनुसार चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ शव फेला परेको, बानेश्वरस्थित संसद् भवनभित्र ३२ प्रदर्शनकारी मृत अवस्थामा भेटिएको जस्ता भ्रामक दाबीहरू सार्वजनिक गरिएको थियो।
त्यस्तै, हिमालयन एयरलाइन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुबई भागेको भन्ने दाबीसमेत गलत सावित भएको आयोगले जनाएको छ। सो विषयमा एयरलाइन्सले औपचारिक रूपमा खण्डन गर्नुपरेको थियो।
यसबाहेक गगन थापा माथि भीडले आक्रमण गरेको तथा विष्णुप्रसाद पौडेल भीडबाट बच्न भागेको भन्ने भिडियोहरू पनि भ्रामक रूपमा प्रचार गरिएको प्रतिवेदनमा उल्लेख छ।
आयोगले यस्ता भ्रामक सूचनाले सार्वजनिक सुरक्षा र सामाजिक स्थिरतामा नकारात्मक असर पारेको निष्कर्ष निकाल्दै सामाजिक सञ्जाल प्रयोगमा जिम्मेवारी र निगरानी बढाउन आवश्यक रहेको औंल्याएको छ।







प्रतिक्रिया